काठमाडौं : ललितपुर उद्योग वाणिज्य महासंघको ४१औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन्। विभिन्न वस्तुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकाले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताएका हुन् ।
अहिले दाल, फलाम, सिमेन्टलगायत वस्तुमा अत्यधिक महँगी बढेको गुनासो आएकाले मूल्यवृद्धि नियन्त्रण आफैं गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गरे। आफैं मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाडने पनि उनले बताए।
उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको उनको भनाइ छ। तर पनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको मन्त्री भट्टले स्पष्ट पारे।





