काठमाडौं । बङ्गलादेशमा अलपत्र परेका २ सय ५८ जना नेपाली विद्यार्थीहरुलाई सरकारले उद्धार गरी नेपाल ल्याएको छ । नेपाल एयरलाइन्समार्फत उनीहरूलाई आज बेलुकी नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
उनीहरुलाई नेपाली समयअनुसार साँझ ६ बजे नेपाल एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । अध्ययन, व्यवसाय र रोजगारीका लागि बङ्गलादेशमा बसोबास गर्दै आएका नेपाली नागरिक कोरोना भाइरसका कारण समस्यामा परेपछि सरकारले उनीहरूकै खर्चमा उद्धार गरेर स्वदेश ल्याएको हो ।
कोरोना भाइरसका कारण सरकारले समस्यामा परेका नागरिकको उद्धार गर्न थालेको थियो ।
योभन्दा अगाडि यूएई र कुवेतबाट ठूलो संख्यामा कोरोना भाइरसका कारण समस्या परेका नागरिकको उद्धार गरेको थियो । सरकारले आजै अफगानस्तिानबाट पनि १४ जनाको उद्धार गरेर नेपाल ल्याएको थियो ।







