विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा अनेरास्ववियू मोरङको आयोजनामा आइतबार विराटनगरमा बयलगाडा जुलुस निकालिएको छ। बिराटनगरको रोडशेष चोकबाट निकालिएको जुलुस ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै तत्कालीन संविधानसभा सदस्य मीना यादवले ओलीको कदमले संविधान नै संकटमा परेको बताइन्। उनले भनिन्, “हामीले संविधान बनाउँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखेका थियौँ। तर, उहाँले कुन धारालाई प्रयोग गरी विघटन गर्नुभयो बुझ्न सकिएको छैन।” यादवले ओलीको कदम प्रतिगामी भएको जिकिर गरिन्।
अधिवक्ता पुरुषोत्तम नेपालले ओलीको कदम गैरसंवैधानिक भएको चर्चा गर्दै भने, “संविधानले नै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन हुनु आश्चर्यलाग्दो भएको छ।” उनले प्रतिनिधिसभा हठातरुपमा विघटन गर्दा त्यसले राजनीतिक अस्थिरता निम्तने खतरा झन् बढेको बताए।
बयलगाडा जुलुसमा सहभागी विद्यार्थीले ‘‘यसमा चढेर अमेरिका पुग्न सकिन्छ’’ भन्दै नाराबाजी गरेका थिए। सहभागीले ओलीको तस्बिरसहित ‘मेरो प्यारो बयलगाडा’अंकित ब्यानर प्रदर्शन गरेका थिए।






