Home / Nepal / News / भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी

भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई सेवा सञ्‍चालन नगरे आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् । 

सरकारले भदौ १ देखि नै नियमित हवाई सेवा सञ्‍चालन गर्ने निर्णय गरेको थियो । तर, देशभर कोरोना संक्रमणको संख्या बढ्दै गएपछि पुनः भदौ १५ सम्मका लागि हवाई सेवामा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धको समय बढाइएपछि वायुसेवा सञ्‍चालक संघ, नेपालले भदौ १६ देखि पनि हवाई सेवा सुचारु नगरिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सरकारले भदौ १ देखि नै सञ्‍चालन गर्न दिने भनेर गरेको निर्णयसँगै हवाई सेवा प्रदायकले सञ्‍चालनको तयारी गरेको थिए । अब भदौ १५ गतेसम्मका लागि रोकिएको छ । विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष रामेश्वर थापाले अब पनि विमान सेवा सञ्‍चालन नगरिए बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

“हवाई सेवा उद्योगलाई तत्कालै सञ्‍चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्‍चालन नभएमा बाध्यतावश हामी आन्दोलित हुने अवस्था सिर्जना हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण नफैलिने भन्दै संघले यदी सरकारबाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुने जनाएको छ । कोभिड-१९ का कारण लामो समयदेखि हवाई सेवा उद्योग बन्द हुँदा यो उद्योगमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुने अवस्थाका साथै उद्योग पनि बन्द हुने अवस्था सिर्जना भएको संघले जनाएको छ ।

सरकारले भदौ १ देखि नियमित रुपमा हवाई सेवा सञ्‍चालन गर्ने निर्णय यसअघि गर्दा वायुसेवा सञ्‍चालकले टिकट बुकिङ गरिसकेका थिए भने विभिन्‍न ट्राभल कम्पनीहरुले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न विभिन्‍न प्याकेज पनि सार्वजनिक गरिसकेका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *