काठमाडौं । प्रेस काउन्सिल नेपालले मधेसी समुदायलाई अपमान गर्दै कार्यक्रम प्रशारण गरेपछी काठमाडौंबाट प्रशारण हुने कृषि टिभीसँग स्पष्टिकरण माग गरेको छ।
देशको संविधान र पत्रकारको आचारसंहिता बिपरित रङ्गभेदी कार्यक्रम सन्चालन गर्ने सो टिभीसँग काउन्सिलले स्पष्टिकरण मागेको हो ।
काउन्सिलको स्पष्टिकरणमा भनिएको छ, ‘प्रसारित सामग्रीको अनुगमन गर्दा सामग्री करिब ४५ मिनेट प्रशारण भएको, उक्त कार्यक्रममा दर्शक-श्रोताको भनाइ राखिएको, प्रारम्भमा कार्यक्रम सञ्चालकबाट ‘भैया’ आउनुभाको छ, कुरा गर्नुस् भनी दर्शक-स्रोताको फोन लिएको, जसमा पटकपटक ‘मधेशीले खाने भनेको यस्तै सुख्खा रोटी, नुन खुर्सानी र चिउरा नै त हो नि’ भनेको’ प्रस्तोताले ‘कस्तो मनासिब, घत लाग्ने कुरा गर्नुभयो जस्ता संवाद प्रयोग भएको छ।’

यस्तै ‘यिनीहरुको जात भनेको बाँडेर खाऊँ भन्ने खालको छैन, एक्लै खाने हो’, ‘ बाँडेर खान्छन्, डढेर कालो ठुटो जस्तो भैसके तरकारी बेच्दाबेच्दा, कालो मान्छे हेपिन्छन्, ‘तिमीहरु त्यस्तै पारा देखाउँछौं, अनि भन्नु परेन ?’ जस्ता संवाद प्रयोग भएको पत्रमा उल्लेख छ।
दर्शकसँगको कुराकानीमा ‘कोरोना सारेर तरकारी बेच्ने, यी भैयालाई नेपालबाट ब्याण्ड गर्नुपर्ने, नेपालमा तरकारी बेच्न नदिनुपर्ने’ जस्ता भाषा, शब्दमार्फत् सिङ्गो समुदायप्रति अत्यन्तै असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिलले जनाएको छ।
सञ्चारकर्मी बीपी साहको उजुरीका आधारमा विहीबार प्रेस काउन्सिलले अध्ययन गरी टेलिभिजनसँग तीन दिनभित्र स्पष्टिकरण माग गरेको हो।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ४(३), ४(४), ४(६), ५(१), उल्लंघन भएको देखिएको हुँदा यस्तो सामग्री के-कसरी सम्प्रेषण हुन गएको भन्ने स्पष्टिकरण माग गरिएको छ।
‘प्रशारित सामग्रीको प्रकृति खुलाई क्षमायाचनासहित अविलम्ब सामाजिक सञ्जालबाट समेत उक्त सामग्री हटाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न र आइन्दा यस प्रकृतिका भूल नदोहोर्याउने प्रतिवद्धता जनाउन निर्णयानुसार निर्देशन दिइएको छ।
अन्यथा पत्रकार आचारसंहिता, प्रचलित ऐन, नियम, कानुनअनुसार थप कारबाही अगाडि बढाइने छ।’ काउन्सिलको पत्रमा भनिएको छ।






