काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोपको अभियान आउँदो बुधबारबाट सुरू हुने भएको छ। त्यसका लागि सातवटै प्रदेशमा आवश्यक मात्रामा खोप पठाइसकिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म दुईवटा प्रदेशमा खोप पुर्याएको छ। आइतबार विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा पठाइएको खोप पुगिसक्ने छ । प्रदेश नम्बर–२ मा कोल्चेन सुचारु नभएकाले त्यहाँका आठ जिल्लामा हेटौँडा र अन्यमा विराटनगरबाट खोप ढुवानी गर्ने मन्त्रालयको योजना रहेको छ।
कोभिड–१९ विरुद्ध खोप केन्द्रको रुपमा सम्बन्धित अस्पताललाई नै तोकिएको छ। सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने र काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने जनाइएको छ।






