म्याग्दी : मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो।
अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलोपटक लोमान्थाङमा भेटिएको बताए।
“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएकोे सो चरा चराविद् डा. हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गर्नुभएको छ।”
केकीघाङमा नयाँ प्रजातिको चरा देखेर तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरुङले बताए । “लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलोपटक दिउँसो १.११ बजे सो चराको तस्बिर खिचेको थिएँ,” उनले भने, “दोस्रोपटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ।
नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाएका थिए। भँगेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ ।
कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए ।






