किमाथांका : संखुवासभाको मकालु गाउँपालिका–५ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु–३, हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीका अनुसार खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को२३प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो।
उक्त ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन्। मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन्। मृतक राईका श्रीमान्–श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गम्भीर घाइते प्रेमकुमारीको थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लग्ने तयारी भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अहिले स्थानीयले खाँदबारी–किमाथांका सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन्।






