Home / Nepal / नोबेलमा शल्यक्रिया गरेर ढाडबाट निकालियो पाँच किलोको मासुको डल्लो

नोबेलमा शल्यक्रिया गरेर ढाडबाट निकालियो पाँच किलोको मासुको डल्लो

काठमाडौं : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट पाँच किलोको मासुको डल्लो निकालिएको छ ।

झापाको दमक नगरपालिका–३, आमचोकका ५६ वर्षीय कुलबहादुर तामाङको ढाडमा करिब १० वर्षअघि गर्धनभन्दा मुनि ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रूपमा बढ्दै गएर ठूलो भएको हो।

ढाडमा पलाएको बोसो मिश्रित मासुको पाँच किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा. अमित भट्टराईले बताए । “उहाँको गर्धनभन्दा मुनि ढाडको सिरानमा मासु पलाएको रहेछ, धेरै वर्षअघिदेखि ढाडमा पाँच किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,” डा.भट्टराईले भने, “हामीले सर्जरी गरेर निकालेको छौँ, अहिले उहाँको स्वास्थ्य अवस्था ठिक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौँ ।”

अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको डल्लो निकालिएपछि उनलाई सहज भएको छ। “सुरुमा सानो बिमिरोजस्तो निस्किएको थियो, पछि बढ्दै–बढ्दै गयो, सधैँ भारी बोकेर बासिरहनुपर्दा निकै गाह्रो भइरहेको थियो,” तामाङले भने, “अपरेसन गरेर फालेपछि ढुक्क भयो । १० वर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ।”

डा. भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । बिरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *