Home / Nepal / के विराटनगरमा समुदायस्तरमै कोरोना फैलिएको हो ?

के विराटनगरमा समुदायस्तरमै कोरोना फैलिएको हो ?

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो सात दिनमा औसत दैनिक १० जनाभन्दा अधिक दरले संक्रमित थपिएका छन् । 

गत साउन ६ गतेसम्म विराटनगरमा संक्रमितको संख्या २९ थियो । तर, एक साता पनि नबित्दै यो संख्या बढेर ९७ पुगिसकेको छ । अर्थात् सात दिन पुग्दा नपुग्दै विराटनगरमा ६८ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये धेरैको संक्रमण स्रोत खुल्न सकेको छैन ।  

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की धेरै संक्रमितको ‘ट्राभल हिस्ट्री’ नहुनु र संक्रमणको स्रोत नखुल्नुले के समुदाय भित्र–भित्रै संक्रमण ‘भुसको आगो झैं सल्किसकेको त छैन ?’ भन्ने आशंका बढेको बताउँछन् ।

भने, “विराटनगरमा समुदायस्तरमा संक्रमण गएको हो भन्ने नै हाम्रो निष्कर्ष हो । तर, थप अनुसन्धान र परीक्षणको दर बढाउनुपर्ने अवस्था आएको छ ।” 

सामाजिक विकास मन्त्रालय १ नम्बर प्रदेशका वरिष्ठ जनस्वास्थ्य विज्ञ तथा प्रवक्ता डा. सुरेश मेहता समुदायस्तरमा कोरोना गए संक्रमितको संख्या तीव्र बढ्ने बताउँछन् ।

उनी भन्छन्, “एकबाट १० र १० बाट सयको आँकडामा संक्रमित थपिन्छन् तर त्यो दरमा बढेको देखिएको छैन ।” उनले विराटनगरसहित प्रदेश १ का २० स्थानीय तहलाई सरकारले जोखिमयुक्त क्षेत्रका रूपमा राखेर परीक्षणलाई बढाउने तयारी गरेको सुनाए ।

महानगरसँग सीमित भीटीएम र स्रोत भएका कारण परीक्षणलाई चाहेजति बढाउन नसकिएको कार्कीले जिकिर गरेका छन् । धेरै पालिकाहरूले अहिले आफैं भीटीएम खरिद गर्ने, स्वाब संकलन गर्ने र प्रदेश सरकारको प्रयोगशालामा पठाउने गरेका छन् ।

विराटनगरमा पछिल्लोपटक अस्पतालसँग सम्बन्धित र स्वास्थ्यकर्मीमा समेत तीव्र संक्रमण देखिन थालेको छ ।

यसैगरी स्वास्थ्यकर्मीलाई समेत कोरोना हुने दर सर्वसाधारणको तुलनामा अधिक देखिएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी संक्रमित भएपछि बिराटनगरमा उच्च सतर्कता अपनाइएको छ ।

महानगरले भदौ १ गते सम्म लकडाउन गर्ने समेत निर्णय गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *