Home / Society / लकडाउनमा दुई हजार २१८ ले गरे आत्महत्या, आत्महत्या गर्नेमा २३५ जना बालबालिका

लकडाउनमा दुई हजार २१८ ले गरे आत्महत्या, आत्महत्या गर्नेमा २३५ जना बालबालिका

काठमाडौँ। नेपालमा बन्दाबन्दीका बेला आत्महत्याका घटना बढेको भन्ने चर्चा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको भए पनि नेपाल प्रहरीको तथ्याङ्कले भने अघिल्लो वर्ष सोही अवधिको तुलनामा आत्महत्याको घटनामा कमी आएको देखाएको छ ।

बन्दाबन्दीका बेला नेपाल प्रहरीले बन्दाबन्दीको अवधिमा देशका विभिन्न भागमा गरी दुई हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  प्रहरीका अनुसार, २०७६ चैत ११ गते बन्दाबन्दी सुरु भएको दिनदेखि २०७७ साउन ४ गते बन्दाबन्दी सकिएको अवधिको तथ्याङ्क सार्वजनिक गर्दै आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन् ।

केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीका अनुसार, सो अवधिमा पुरुष एक हजार १७२, महिला ८११, बालिका १४१ र बालक ९४ जनाले आत्महत्या गरेका छन् ।

यसैगरी, २०७६ चैत १ देखि २०७७ असार ३१ सम्मको तथ्याङ्क विश्लेषणका आधारमा भने अघिल्लो सोही अवधिको तुलनामा आत्महत्याको सङ्ख्या दुई दशमल्लव १६ प्रतिशतले कमी आएको प्रहरीले जनाएको छ । यस अवधिमा दुई हजार २६७ जनाले आत्महत्या गरेको उजुरी प्रहरीमा दर्ता भएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा सबैभन्दा बढी आत्महत्या झुण्डिएर एक हजार ८२८ जनाले गरेका छन् जसमा महिलाभन्दा बढी पुरुष रहेको छन् ।

त्यस अवधिमा ९६९ पुरुष र ६५५ महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै झुण्डिएर आत्महत्या गर्ने बालक ७८ र बालिका १२६ जना रहेका छन् ।


यस्तै झुण्डिएर पछि दोस्रोमा विष खाएर आत्महत्या गर्ने धेरै छन् । यस अवधिमा कुल ३४६ जनाले विष खाएर आत्महत्या गरेको र त्यसमा १७६ पुरुष १४० महिला रहेका छन् भने १६ बालक र १४ बालिका रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

विष खाएरपछि धेरैले हाम फालेर पनि आत्महत्या गरेका छन् ।

यस अवधिमा १९ जनाले हाम फालेर, १२ जनाले डुबेर, आठ जनाले औजार वा हतियरा प्रयोग गरेर, चार जनाले आगो लगाएर, एक जनाले करेन्ट लगाएर पनि आत्महत्या गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *