काठमाडौं । निरन्तरको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशभरका विभिन्न स्थानमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार विभिन्न राजमार्गमा पर्ने ३५ वटा सडक अवरुद्ध भएका हुन् । विभागका अनुसार अरनिको राजमार्गमा पर्ने खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु, डाकलाङ, माथिल्लो भोटेकोसी ड्याम अवरुद्ध भएका छन् ।
यो खडक खुल्न तीन दिन लाग्ने विभागले जनाएको छ । यसैगरी साँफेबगर-मार्तडी खण्डमा पर्ने अम्कोट-द्वारी खण्ड पनि अवरुद्ध भएको छ । यो खण्ड खुल्न १० दिन लाग्ने विभागले जनाएको छ ।
यस्तै बेनी-जोमसोम-कोरोला खण्डअन्तर्गत म्याग्दीको दाना, गलेश्वर सडक, चन्द्रनिगाहापुर-गौर सडकअन्तर्गत सबगढास्थित कजवे, कान्ति लोकपथअन्तर्गत घट्टे पख/बाघ धारा/शिलालेख/छपेली, बेंसीसहर-चामे खण्ड, बेनी-जोमसोम-कोरोलाअन्तर्गत म्याग्दीको काभ्रेभिर, घोप्टेभिर, महेन्द्र राजमार्गको बाँध-धन्सार खण्डको चपुरदेखि करिब ३ किलोमिटर पूर्वको जुडिवेला कजवे, नारायणगढ-मुग्लिङ खडक चारकिलो डाँडा, मलेखु-मुग्लिङअन्तर्गत जोगिमारा, मलेखु धादिङबेंसीको परेवाटार, बेंसीसहर-चामे खण्डमा पुवा खोला, खरखरे भिर, तारिकुना, घोप्टे भिर, घट्टे खोला, च्याम्चे, म्यार्दी, पृथ्वी राजमार्गको विमलनगर, आँबुखैरेनी गोरखा, डुम्रे बन्दीपुर, सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा, साँफेबगर-मार्तडी सडकको अम्कोट खण्ड र ताप्रीसेरा घट्टेखोला, बीपी राजमार्गको कमेरेफाट, टुपिडाँडा, चन्द्रनिगाहपुर गौर सडकको सबगढास्थित कजवे खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक केशवकुमार शर्माले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए ।






