Home / Nepal / सरकारले चीनबाट ल्यायो एक लाख पिपिई र ५० हजार परीक्षण किट

सरकारले चीनबाट ल्यायो एक लाख पिपिई र ५० हजार परीक्षण किट

काठमाडौं, १६ चैत । सरकारले चीनबाट एक लाख पिपिई र ५० हजार परीक्षण किट लगायतका मेडिकल सामग्री ल्याइएको छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो।

मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ। उक्त जहाज आज बिहान ५ बजे काठमाडौँ आइपुगेको थियो।

औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो।

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ।

जुहार्चनले निगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस पोष्ट’ गरेका छन्।

उनले देश लकडाउनको अवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड–१९ का स्वाब नमूना ल्याई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण र चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको बताएका छन्।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए। एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको उनले बताए।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *