Home / Society / लकडाउनमा महिला असुरक्षित, आफन्त तथा चिनेका व्यक्तिहरूबाटै बलात्कारका घटना

लकडाउनमा महिला असुरक्षित, आफन्त तथा चिनेका व्यक्तिहरूबाटै बलात्कारका घटना

काभ्रे । लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला बलात्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पहिलो घटना

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका छन् ।

लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जबरजस्ती करणी गरेका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले रक्सी खाने सल्लाह गरे । दुवैले रक्सी खाए । रक्सी खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सी थिएन ।

उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर रक्सी किन्न पठाए । श्रीमान्लाई रक्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले जबरजस्ती गरेको महिलाको बयान छ ।

श्रीमतीलाई जबरजस्ती करणी गरेको श्रीमान्ले देखेलगत्तै कान्छा फरार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । वैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन ।

जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् ।

दोश्रो घटना

त्यस्तै साढुभाइ विदेश गएको मौका छोपी सालीसँग पटक–पटक जबरजस्ती अनैतिक सम्बन्ध राख्ने पाँचखाल नगरपालिका–१२ खहरेगाउँका ३७ वर्षीय रत्न भन्ने चन्द्रबहादुर दनुवार पक्राउ परेका छन् ।

विदेशबाट लकडाउन हुनुअघि घर फर्किएका श्रीमान्ले श्रीमतीको पेट लगातार बढेको, खाना अरुचि भएको, वाकवाकी लागेको तथा गर्भ रहेको जस्तो आशंका लागेपछि सोधेका थिए ।

श्रीमतीले आफ्नै भिनाजुको गर्भ भन्न नसकेर चुप लागेर बसेको भन्दै श्रीमान्को सहयोग हुने भएपछि वास्तविकता बताएकी थिइन् । उनको पेटमा चार महिनाको गर्भ रहेको परीक्षणबाट देखिएपछि श्रीमान्–श्रीमती दुवैको सल्लाहमा रत्न भन्ने चन्द्रबहादुर दनुवारलाई पक्राउ गरिएको छ ।

लकडाउनको समयमा श्रीमान्–श्रीमती घरमै बसिरहेका थिए । २०७६ पुस २६ गते दिउँसोको समयमा पाँचखाल नगरपालिका –१२ स्थित बगैंचामा श्रीमान्ले विदेशबाट पठाएको रकम पाँचखाल तामाघाटबाट लिएर फर्कने क्रममा चन्द्रबहादुरले जबरजस्ती गरेका थिए ।

२०७६ फागुन १३ गते महिलाको छोरा झुण्डिएर आत्महत्या गरे । छोराले घरमै आत्महत्या गरे पछि महिलाको श्रीमान् विदेशबाट फर्किएका थिए । श्रीमान्बाट विदेशबाट फर्किएपछिको समयभन्दा अगावै उनको पेटमा बच्चा रहेको थाहा पाएपछि परीक्षणपछि भिनाजु चन्द्रबहादुरको जबरजस्ती करणीबाट बच्चा रहेको थाहा भएको थियो ।

उनी अहिले प्रहरी हिरासतमै छन् । प्रहरीले २०७७ जेठ ११ गते उनलाई नियन्त्रणमा लिएको थियो ।

तेश्रो घटना

त्यस्तै धुलिखेल नगरपालिका–९ छोटेडाँडामा २०७७ जेठ ११ गते मध्यरातको १२ बजेको समयमा ६१ वर्षीय प्रल्हाद सार्कीले मादक पदार्थ सेवन गरी ढोकाको चुकुल अग्लो काठमा चढी निकालेर सुतिरहेकी ५२ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेका छन् ।

सार्कीले पारिवारिक विछिप्तताको घटना सुनाउँदै जबरजस्ती गरेको स्वीकारेका छन् । तीनमध्ये दुई छोरा आँखा देख्दैनन् ।

माइलो छोराले केही वर्षअघि विवाह गरेर बच्चासमेत भए पनि २०७७ वैशाख २२ गते आफ्नै घरमा झुन्डी आत्महत्या गरेकी थिइन् ।

बुहारीले लकडाउनकै अवधिमा झुन्डी आत्महत्या गरेपछि थप पीडामा रहेकाले मादक पदार्थ नियमित सेवन गरिरहेको उनले बताए । पेसाले उनी सिकर्मी हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *