- खुमा कुमारी भुसाल
घोडताप्रे एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय अनि हलका बास्नादार बोट हो। यो लहरे झार वर्गको एक सामान्य वनस्पति हो। यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका (centella asiatica) हो। यत्रतत्र भेटिने यस झार प्राचीन कालदेखी औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ। यस बोटबाट अलिक पृथक खालको बास्ना आउँछ जसलाई जोकोही मन पराउँदैनन्।
- वनस्पति विज्ञान: यो हेर्दा कस्तो देखिन्छ?
यो धेरै वर्षसम्म बाँच्न सक्ने वनस्पति हो जसको उचाई सामान्यतया १५ से.मी. र ठूला प्रजाती भए २५से.मी. हुन्छ। यसका पातहरु समूहमा हुन्छन्, पछाडिबाट हेर्दा उभिएको भ्यागुतो जस्तो देखिने भएकाले संस्कृतमा यसलाई ‘मन्दुकपर्नी’ भनिन्छ। यसको काण्ड लहराको रुपमा फैलिएको हुन्छ। यसका फूलहरु सेतो देखि वैजनी गुलाबी रङका हुन्छन्। यसमा लामो, गोलो आकारको फल लाग्दछ जुन करिब २ इन्च लामो हुन्छ। यसको जरा प्रत्येक गाँठहरुबाट निस्केको हुन्छ।
- हावापानी र माटो: यो कस्तो वातावरणमा पाइन्छ?
यो उष्ण प्रदेशमा व्यप्त रुपमा देखिने लहरे झार हो। विशेषतः छाया परिराख्ने, चिसो अनि दलदल ठाउँहरु जस्तो कि धानखेत, खोलाका किनारमा हरियो गलैँचाका रुपमा विकसित भएको हुन्छ। यसको जरा चिम्ट्याइलो माटोमा भन्दा बलौटे दोमटमा बढी फस्टाउने गरेको पाइन्छ। गह्रौ धातुहरुले गर्दा बिग्रेको माटोमा यो लगाउँदा यसको जराले माटोमा ती धातुहरुको प्रभाव घटाएर आफूलाई स्थापित गर्छ।
- यसका फाइदाहरु:
गाउँघरमा यत्रतत्र उम्रने यस झारका फाइदाहरु आंशिक रुपमा अवगत हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ। यसको सम्पूर्ण भागहरु औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन्। यसमा एन्टीअक्सिडेन्ट तथा एन्टीमाइक्रोबिएल क्षमता हुन्छ। यो सेवन गरेमा मानव शरिरका नसाहरुको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ। त्यसकारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई “दिमागी खाना(Brain Food)”को संज्ञा पनि दिइएको छ। यसमा एन्टीस्ट्रेस फर्मुला(Anti-stress Formula) हुन्छ जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।
- घरेलु उपचार:
स्थानीय रुपमा व्याप्त भएका कारण विभिन्न ठाउँमा यसलाई गाउँघरका बुढा बुज्रुक मान्छे जसलाई आयुर्वेदको जानकारी छ, उनीहरूको सल्लाह अनुसार घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ। घरेलु उपचारमा यसलाई प्रयोग गर्ने उपायहरु यसप्रकार छन्:
- खोकी लाग्दा यसको पातको सिरप(रस) अदुवा र मरिचसँग मिसाएर पिउने
- यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर, कुष्ठरोग तथा भिरिंगी जस्ता रोग निको पार्न सकिन्छ
- यसको ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ
- शरीरमा हुने दुखाई हटाउन प्रतिदिन २ पटक १०मि.लि. यसको जुस बनाएर खान सकिन्छ
- छालासम्बन्धी रोग निवारणका लागि पनि यसको लेदो लाभदायक हुन्छ
- व्यवसायिक उत्पादनहरु:
यसलाई विभिन्न औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ। बजारमा क्याप्सुल, ट्याब्लेट, सिरप, टोनिक आदिका नाममा यसको वितरण गरिन्छ। त्यसै गरि, यो कस्मेटिक सामानहरु बनाउन पनि उत्तिकै प्रयोग हुन्छ। स्किन केयर क्रीम, स्किन टोनिङ्ग आदिका नाममा व्यवसायिक उत्पादन गरिन्छ।
- बालीउपरान्तका प्रविधिहरु:
यो झारका पात, फूल, फल तथा जराहरु टिपेको केही दिनभित्रै सड्ने खालका हुन्छन्। तिनीहरुलाई लामो समयसम्म प्रयोगमा ल्याउनका लागि विभिन्न प्रविधि अपनाउनु पर्ने हुन्छ। यसमध्ये सजिलो प्रविधि भनेको डिहाइड्रेसन अर्थात् सुकाएर पानी कम गराउनु हो। यसो गर्दा त्यसमा भएका पौष्टिक तत्वहरु नास पनि हुँदैनन् साथै लामो समयसम्म जोगाउन पनि सकिन्छ।
- उत्पादनको संभावना:
हाम्रो देशमा यसको व्यवसायिक रुपमा खासै खेती गरिएको इतिहास छैन। आफ्नो घरखेतमा अनुकुल वातावरणका कारण स्वत उम्रने बोटहरुको संरक्षण गरी तिनैको प्रयोग हुँदै आएको छ। कृषियोग्य नभएका कारण यसै बाँझो छोडिएका खेतहरुमा प्रशस्त भेटिने यो झारलाई कुनै ठूलो लगानी बिना नै थोरै व्यवस्थित ढङ्गले खेती गर्ने हो भने, प्रशस्त आम्दानी हुन सक्छ।
तीन महिनाको छोटो समयमै परिपक्व हुने भएकाले यो खेती गर्दा समयको उचित सदुपयोग पनि हुन्छ। यो बिरुवा पनि अन्य औषधिय वनस्पतिहरु जस्तै मूल्यवान् छ। यिनीहरु विभिन्न रोगका औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसले सजिलै बजार पाउन सक्छ।
यस्तो फाइदाजनक वनस्पतिको महत्व पहिचान गरी उत्पादनतर्फ ध्यान दिने हो भने सामान्य किसानको आम्दानी वृद्धि हुनुका साथै कृषिक्षेत्रमा थप टेवा पुग्ने निश्चित छ।
खुमा कुमारी भुसाल, चितवन, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडी अध्ययनरत विद्यार्थी






