काठमाडौं । चीन–भारतका सेनाबीच लद्दाखमा भिडन्त हुँदा तीन जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको बीबीसीले उल्लेख गरेको छ ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको थियो ।
गलवान क्षेत्र भारत–चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको हो ।
लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो ।
त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन ।
पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरेपछि भारत र चीनवीच युद्ध हुन सक्ने अनुमान थियो ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो।
चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।
सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।
गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।






