Home / Politics / भारतीय पूर्वमन्त्री मणिशंकरको मोदी सरकारलाई प्रश्न : छिमेकीसँग कूटनीतिक सम्बन्ध राख्ने यस्तै हो तरिका ?

भारतीय पूर्वमन्त्री मणिशंकरको मोदी सरकारलाई प्रश्न : छिमेकीसँग कूटनीतिक सम्बन्ध राख्ने यस्तै हो तरिका ?

काठमाडौं । भारतीय पूर्वमन्त्री मणिशंकर अय्यरले भारतको असंवेदनशील कूटनीतिको चरमविन्दु पार भएपछि नेपालले नक्सा जारी गरेको बताएका छन् । 

दी विकमा प्रकाशित आफ्नो लेखमा उनले नेपालले सीमा समस्या समाधानका लागि पटक-पटक आग्रह गर्दा पनि भारतले कुनै प्रतिक्रिया नदिएर असंवेदनशील कूटनीति प्रकट गरेको बताएका छन् । 

उनले भने, “सन् २०१९ को अगस्टमा भारतीय विदेशमन्त्री एस जशंकरले दुवै मुलकको सहमतिमा गठन भएको परराष्ट्र (विदेश) सचिवस्तरको ‘संयुक्त संयन्त्र’ मार्फत बाँकी रहेका सीमा समस्या समाधान गर्ने सहमति गरेका थिए । तर, नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित भनिएको क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर नेपालसँगको वार्ताको  विषयलाई ओझेलमा पार्‍यो ।”

नेपालले भारतले प्रकाशनको गरेको नयाँ नक्सामा आपत्ति जनायो । तर, भारतले उक्त भूमि भारतकै भएकोभन्दै ‘विज्ञप्ति आक्रमण’ जारी राखेको उनले बताएका छन् ।

नेपालले वार्ताका लागि गरेको प्रस्तावमा भारतले कुनै प्रतिक्रिया नदिँदै उक्त क्षेत्रमा बनाइएको बाटो उद्‌घाटन गरेपछि नेपाल थप आक्रोशित बन्यो र नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको उनले जनाएका छन् । 

अय्यरले भनेका छन्, “तर, भारतले नेपालको नयाँ नक्सा कुनै ऐतिहासिक तथ्य र प्रमाणका आधारित नभएको र त्यस्तो कार्टोग्राफिक आक्रमणबाट टाढा रहन प्रवक्तामार्फत तर्साउने काम गर्‍यो । त्यसैगरी भारतीय सना प्रमुखले समेत नेपालले अरुको उक्साहटमा भारतविरुद्ध गतिविधि बढाएको आरोप लगाए ।” 

भारतीय राष्ट्रिय कांग्रेसका नेतासमेत रहेका पूर्वमन्त्री अय्यरले के आफ्नो सानो छिमेकीसँग संवेदनशील कूटनीतिक सम्बन्धहरू सञ्‍चालन गर्ने कुनै तरिका यही हो भन्दै प्रश्‍न गरेका छन् ।

उनले अगाडि भनेका छन्, “यदि यो कोभिड समय हो भने पनि दुई परराष्ट्र सचिवहरूले स्काइप वा जुममा कुरा गर्न किन सक्दैनन् ?”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *