Home / Society / बिराटनगरमा तीनै तहका सरकारविरुद्ध प्रदर्शन

बिराटनगरमा तीनै तहका सरकारविरुद्ध प्रदर्शन

बिराटनगर। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको भन्दै बिराटनगरमा तीनै तहका सरकारविरुद्ध प्रदर्शन भएको छ ।

क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न नसकेको सरकारले लकडाउनको अवधिमा उद्योगधन्दा तथा व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा कर बुझाउन उर्दी जारी गरेको र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै युवा तथा व्यापारीले बिहीबार प्रदर्शन गरेका हुन् ।

युवाहरुले ‘जनतालाई छैन सरकारको आश, सरकारलाई चाहियो जनताको लाश’, ‘कार्पेट हैन सोच बदलौं’, ‘पैसा छैन गोजीमा सरकार करको खोजीमा’ लगायतका नाराहरु लेखिएको प्ले कार्डसहित विभिन्न चोकहरुमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

गरिब, मजदुर तथा व्यापारी लगायतका वर्गका लागि राहतको समेत सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै यथाशीघ्र यसका लागि पहलकदमी लिन सरकारसँग माग गरेका हुन् ।

बिहीबार विराटनगरस्थित देवकोटा चौकबाट स्वतःस्फूर्त रूपमा निस्किएको युवा समुहको र्याली हस्पिटल चौक, जलजला चौक र ट्राफिक चौकबाट मेनरोड हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडी पुगेको थियो ।

बजार परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालय अगाडी पुगेको र्यालीमा सहभागी युवाहरुले राष्ट्रिय गान गाएर सरकारले गरेको कामको आलोचना गरेका थिए ।

‘सरकारले अब अति गरिसक्यो । यो सरकारको अन्त्य निश्चित छ महामारीको बेला पनि सरकार कमिसन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रह्नु एकदमै दुःखद हो,’ प्रदर्शनमा उत्रेका व्यवसायी दिपेन्द्र यादवले भने ।

सरकारलाई सही बाटोमा ल्याउनका लागि विरोध गरेको बताउँदै उनले माग पूरा नभए अन्य विरोधका अन्य कार्यक्रम पनि गर्ने प्रदर्शनमा उत्रिएका युवाहरुले बताए ।

बिहीबार नै काठमाडौं, पोखरा, वीरगन्ज र जनकपुरमा पनि सरकारी रवैयाको विरोधमा प्रदर्शन गरिएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *