बेलबारी । मोरङको बेलबारीमा लकडाउनको मौका छोपेर अवैध रूपमा घरेलु मदिराको उत्पादन र व्यापार गर्ने क्रम बढेपछि प्रहरीले मदिरा जफत गरेर नष्ट गर्न थालेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले लकडाउनको मौका छापेर भइरहेको घरेलु मदिराको अवैध कारोबारलाई कडाइ गरिएको बताए।
‘यस अवधिमा घरेलु मदिराको ओसारपसार गर्ने समूहबाट चार लाख रुपैयाँभन्दा धेरै राजस्वसमेत संकलन गरेका छौँ,’ उनले भने।
आइतबार मात्रै प्रहरीले बेलबारी क्षेत्रबाट सात सय ५० लिटर रक्सी र दुई सय २० किलो मर्चा बरामद गरेर नष्ट गरेको छ।
बेलबारी– ४ को यलम्बर चोकमा लुकाएर राखेको अवस्थामा मदिरा र कच्चापदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार मोरङका विभिन्न स्थानमा उत्पादित मदिरा भित्री सडकको प्रयोग गरेर भारतको जोगबनीसम्म पुऱ्याएर बेच्ने गरिएको छ।






