श्रद्धा खासु मगर
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडी
परिचय
टिमुर रुटेसी परिवारमा पर्ने एक अनौठो किसिमको स्वाद र वास्ना हुने वनस्पति हो । यसको वैज्ञानिक नाम जान्थोेजाइलम अर्मेटम हो ।
टिमुर चिन , थाइल्यान्ड, फिलिपिन्स, भुटान, इन्डोनेसिया, नेपाल र भारत जस्ता देशहरुमा लोकप्रिय मसलाको रुपमा प्रयोग हुने गर्छ । यो २–६ मि. अग्लो हुने मझैला, काडेदार र सुगन्धित वनस्पति हो ।
यसको काण्ड र पातको फेदमा चेप्टा काडाहरु हुन्छन् । पातहरु टुप्पामा तिखा, फुलहरु साना हरिया र केहि पहेला हुन्छन् भने फलहरु स–साना राता, ४–५ मिलीमीटर व्यासको हुन्छन् । स्वादमा पिरो, टर्रो र जिव्रो पर्पराउने यो फल नेपालको पुर्व मध्यपहाड देखि पश्चिम सम्मनै खेति गर्न सकिन्छ ।
हावापानी र माटो
टिमुर प्राकृतिक अवस्थामा महाभारत पर्वत श्रृखंलाको १२०० देखि २५०० मि. सम्मको उचाइमा पाइन्छ । खुल्ला डाँडा, पाखो, खोल्सा र बारीको काल्नामा फल्ने टिमुर, उपोष्ण र सितोष्ण हावापानीमा राम्ररी फस्टाउन सक्छ ।
अन्य खेती योग्य नभएको बलौटे एवम् पत्थरिलो माटोमा पनि यसको खेती राम्ररी गर्न सकिन्छ । व्यवसायिक रुपमा खेती गर्नको लागी प्रसस्त जैविक मल र ६.५–७ सम्मको पि.एच. भएको दोमट माटो राम्रो मानिन्छ ।
बीउ सङ्कलन
१ हेक्टर जग्गाको लागि ५०० ग्राम बीउको आवश्यकता पर्छ । असोज, कार्तिक तिर पाकेको फललाई टिपी, घाममा सुकाइ बोक्रा निकालेर भण्डारन गरेको बीउलाई लगाउनु अघि २४ घण्टा सम्म पानीमा भिजाएर राख्नु पर्छ ।
सो बीउलाई बालुवामा रगटेर लगाउदा बाहिरको चिल्लो कालो भाग हट्ने हुदा बीउको अंकुरण प्रतिशतमा वृद्धि हुन्छ ।
सामान्यता बीउको उमार क्षमता १०–१५% मात्र भएकाले यसो गर्दा उमार क्षमता २०–४०% सम्म बढ्ने गर्छ ।
नर्सरीमा हेरचाहा
नर्सरीमा मलिलो माटो ३ भाग, बालुवा १ भाग र मल १ भाग मिसाई पुर्व–पश्चिम लम्बाईको बेड तयार गर्न पर्छ । बेड बनाउदा १ से.मि. चौडाई, १५ से.मि. उचाई तथा लम्बाई आवश्यकता अनुसार गरान सकिन्छ ।
२४ घण्डा भिजाएर राखेको बीउलाई फागुन महिना तिर नर्सरी बेडमा डुबाएर रोपि सकेपछि हल्का माटो छर्नु र पातलो परालले छोप्नु पर्दछ ।
वेरना उम्रिन थाले पछि पराल हटाइ छाहारीको लागि ६० से.मि. जति अग्लो छाप्रो बनाउनु पर्छ ।
खाडलको तयारी
विरुवा लगाउनु ३–४ महिना अगाडिनै ३०x३०x३० से.मि. भएको खाडल तयार गर्न पर्छ । सो खाडलमा राम्ररी पाकेको गोबर मल र माटो मिसाइसके पछि विरुवा रोप्नु पर्छ ।
एउटा विरुवा देखि अर्को विरुवाको दुरी २.५–३ मि. सम्मको उपयुक्त मानिन्छ ।
बेर्ना रोपण
बेर्ना मध्य वर्षात भन्दा केहि अगाडि अथवा खास वर्षात सकिसके पछि लगाउन उत्तम मानिन्छ ।
सिचाइको राम्रो व्यवस्ता भएको ठाउँमा टिमुरलाई हिउँदे बालिको रुपमा पनि लगाउन सकिन्छ । माघ, फागुन महिनामा रोपिएको बेर्ना अझै राम्ररी सप्रीयको देखिन्छ ।
सामान्यता १ वर्ष पछिको बेर्ना सार्नका लागी उपयुत्त मानिन्छ तर बेर्ना १५–२० से.मि. अग्लो भएमा पनि सार्न सकिन्छ । विरुवा रोपे लगतै सिचाई गर्नु पर्दछ ।
१ हेक्टर जमिनमा १००० वटा सम्म टिमुरको बेर्ना लगाउन सकिन्छ ।
कटिङ्बाट प्रसारण
टिमुरलाई कटिङ्बाट पनि सार्न सकिन्छ । यसका लागी २–३ से.मि. व्यास भएको, १५ से.मि. लामो र ३ वटा आख्ला भएको डाठ राम्रो मानिन्छ ।
कटिङ् गरेको डाठलाई रुटिङ हार्मोनको झोलमा डुबाएर नर्सरी बेड अथवा पलास्टिकको व्यागमा लगाउनु पर्छ । यसरी राखेको कटिङ ३/४ महिनामै रोप्नका लागी तयार हुन्छ ।
सिचाई र मलजल
बिरुवा रोपी सकेपछि खाडलमा पानी जम्न दिनुहुदैन र निकासको राम्रो व्यवस्था हुनु पर्छ ।
बिरुवा लगाएको ५ वर्ष सम्म वर्षको २ पटक गोडमेल गरे सँगै राम्ररी पाकेको गाई वस्तुको मल हाल्न अनिवार्य मानिन्छ ।
रोग तथा व्यवस्थापन
टिमुर लगाएको वरिपरि काउसो खेती गर्दा झारपात नियन्त्रण र माटोमा सुधार आउने गर्छ ।
टिमुरमा धेरै रोग र किरा नलागेता पनि नर्सरी बेडमा हुदा पात खाने किराको समस्या देखिन सक्छ जस्का लागी वनस्पति जन्य विषादीहरु जस्तै तितेपाति, निम, वकाइनो आदिको झोल प्रयोग गर्न सकिन्छ ।
धेरै जसो ऐजेरुको समस्या देखिने हुदा ऐजेरु पलाएको हाँगालाई कटेर जलाएमा नियन्त्रण गर्न सकिन्छ । मरेको हाँगा, पात, नफलेको र कमजोर हाँगा आदिलाई काटेर फाल्नु पर्दछ ।
उत्पादन
राम्ररी पाकीसकेको फललाई हात, लठ्ठी अथवा कटिङ् औजारको मदतले असोज, कार्तिक तिर टिपीन्छ ।
एउटा परिपक्क बोटमा २–४ के.जी. र १ हेक्टरमा लगभग २०००–४००० के.जी. टिमुर उत्पादन हुन्छ ।
टिमुर ४–५ वर्ष देखिनै फल्न सुरु भई १५–२० वर्ष सम्म यस बाट उत्पादन लिन सकिन्छ ।
फाइदा
टिमुरमा रहेको रसायन बाट बिाभन्न रोगका औषधी बनाउन सकिने अनुसन्धानले पुष्टि गरेको छ । टिमुर मधुमेह, उच्च रक्तचाप, कलेजोको समस्या, दात र गिजाको समस्या र झाडापखलाको लागी निकै प्रभावकारी मानिन्छ । खोकी लाग्दा , जुका पर्दा र लेक लाग्दा पनि टिमुरको झोल गाउँ घर तिर निकै प्रयोग गरिन्छ । बहुउपयोगी एवम् औषधीय गुण भएको टिमुर नेपाली भान्साको एउटा लेकप्रिय मसला पनि हो ।






