सबिन ख्याजू
पृष्ठभूमि
मानव समाजको विकास भइरहँदा नदीको किनारको सभ्यतालाई महत्वका साथ लिइन्छ । नदीको किनारमा बीउ छर्दा, केही समय पछि उम्रनुका साथै बीउ उम्रन पानी, मल, घाम आदि चाहिने किसानले बुझ्न थाले ।

धानको बीउ छर्दा धानको वोट उम्रने, मकैको बीउ छर्दा मकैको वोट नै उम्रनेजस्ता कुरा बुझ्न थाले । शुरुमा फिरन्ते जीवन शैली थियो । जहाँ जे भेटायो त्यही खाने प्रचलन थियो । तर, उनीहरुको जिविकोपार्जन हुन अझै मुस्किल नै हुन्थ्यो ।
नदी किनारभन्दा पर जमिनमा पनि खेती गर्न थालियो । तर आफूले लगाएको बालीले सोचेजस्तो फसल दिन्थेन । कि रोग–कीरा लाग्थ्यो, कि पानी कम वा वढी हुन्थ्यो, मलको मात्रा मिल्थेन, बीउमा खराबी हुन्थ्यो आदि समस्याले किसान पिरोल्थे ।
हरेक बालीभित्र अनेक जात हुन्छन् । हरेक जातको आफ्नै विशेषता हुन्छन् । कुनै जातले विभिन्न रोगसँग फरकफरक प्रतिक्रिया जनाउँछ ।
रोगको कारक तत्वसँग कुनै जातले प्रतिरोध गर्न सक्छ, कुनैले प्रतिरोध गर्न सक्दैन भने कुनैले रोग लागेपनि उत्पादनमा कुनै असर नदेखाउने गर्दछन् ।
बालीमा शत्रु कीराको हकमा पनि यो लागू हुन्छ । कुनै जातको बालीले जमेको पानी सहन सक्छ, उत्पादनमा नकारात्मक असर गर्दैन । कुनै जात कम पानी वा सुख्खा सहन सक्छ ।
कुनै जातले मलको खपट बढी गर्छ भने कुनैले कम मात्र उपभोग गर्छ । किसानहरु बालीका विभिन्न जातको बीउले फरक–फरक उत्पादन दिनेबारे जानकार छन् । तर, के कुरा थाहा छैन भने जातअनुसार उत्पादन क्षमता बारे अनविज्ञ छन् ।
यी सबै विशेषताहरु त्यस बालीको वंशानुगत गुणले निर्धारण गरेको हुन्छ । त्यसलाई जिन भनिन्छ । त्यसभित्र पनि एलीली ले निर्धारण गर्दछ ।
किसानहरुले पहिलेदेखि नै परम्परागत बीउको खेती गर्दै आएका थिए र छोडेका छैनन् । व्यक्तिदेखि सामुदायिक तहसम्मका सबै बीउ संरक्षण बीउ बैंकको रुपमा लिइन्छ । यसका सबल पक्षहरु छन् । किसानलाई बीउको अभाव हुन्न । बीउ खरिद गरिरहन बाध्यता हुन्न ।
बीउ उत्पादन सीपको संरक्षण हुन्छ । खुल्ला रुपमा परागसेचन हुने बालीको बीउ छान्ने अनि अर्काे बर्ष त्यही बीउको प्रयोग गरिन्छ । तर, हाइब्रिड बीउ यसरी प्रयोग गर्न सकिन्न ।
एक बाली लिइसकेपछि अर्काे बाली लिन नयाँ बीउ नै खरिद गर्नु पर्दछ । यसमा पनि जिनकै भूमिका हुन्छ । अन्नबालीलाई भन्दा वढी स्याहार र संरक्षणको जरुरी बीउलाई चाहिन्छ ।
सामुदायिक बीउ बैंक, सामुदायिक जिन बैंक र सामुदायिक बीउ तथा जिन बैंक । सन् १९८० को दशकमा अफ्रिकाको इथियोपिया देशबाट भोकमरी र युद्धपछि बीउ बैंको शुरुवात गरिएको हो ।
नेपालको भौगोलिक र प्राकृतिक विविधताले विरुवा÷वनस्पतिको विविधता हुनु स्वाभाविक हो । बीउ बैंक विकासमा नेपालको हिमाल, पहाड र तराईमा अलग्ग अलग्ग अथाह सम्भाव्यता छ । समुन्द्री सतहभन्दा ६० मिटर देखि ४८०० मिटरसम्म फैलिएको भूगोलमा प्रत्येक १०० मिटर उचाईको फरकमा तापक्रम १ डिग्री सेल्सियसले फरक छ ।
समुन्द्र र मरुभूमिबाहेक सबै मौसस नेपालमा हुनु महत्वपूर्ण पक्ष हो ।
नेपालमा हाल सयभन्दा बढी सामुदायिक जिन तथा बीउ बैंकहरु स्थापित छन् । यिनीहरुको उत्पत्ति कृृषिमा जैविक विविधता संरक्षण, प्राकृतिक प्रकोपबाट हुने विनास, मौसम परिवर्तन, बीउको गुणस्तरमा कमी, र कृषकको सक्रियतामा वृद्धिले भएको मानिन्छ ।
खाद्य बाली र उपयोगी विरुवाहरुको संरक्षण सबैको निम्ति आवश्यक छ । हराएका बीउहरुलाई पुन स्थापित गर्न यो अवधारणाको महत्व छ । यो काममा लाग्नेहरुको लागि रोजगारी पनि सिर्जना हुन्छ ।
सकारात्मक प्रभाव
- किसानको लागि बीउबारे आवश्यक सम्पूर्ण जानकारी प्रदान गर्न निकै सहज हुन्छ । स्थानीय र लोप हुन लागेका बीउ संकलन, बीउको विशेषता पहिचान, दस्तावेजीकरण आदि ।
- बीउको स्रोतहरुबारे तथ्याङ्क तयार हुने भएका कारण बीउ/जिन स्रोतकेन्द्रको रुपमा विकास हुन्छ । किसान र अनुसन्धानकर्ता बीच विचार आदान–प्रदान र तालिम गर्ने दबुको विकास हुन्छ ।
- प्राकृतिक प्रकोपबाट कुनै बीउ नोक्सानी भएमा त्यसको पुर्नजीवन वा समाधान स्वरुप यी केन्द्रहरु रहन्छन् ।
- बीउ उत्पादनकर्ता र अनुसन्धानकर्ताको लागि आवश्यक विभिन्न बाली र त्यसका जातहरुको उपलब्धता हुन्छ । पूराना जातको प्रयोग गरी नयाँ जातका बीउ उत्पादन गर्न सहयोग मिल्छ ।
- खाद्य सुरक्षाको लागि यी बीउ वा जिनको उपयोगिता सधैं रहन्छ ।
- कृषकको खेतबारीमा सुरक्षित गरिएको बीउ÷जिनको शुद्धता कायम रहन्छ । यो सबैभन्दा राम्रो बीउ भण्डारणको हो ।
- स्थानीय समुदाय र केन्द्रीय जिन बैंक बीच पुलको काम गर्न ।
- किसानको आम्दानीको स्रोतको रुपमा विकास हुने ।
पुराना वीउ विस्थापन
विश्वमा नै पूराना जातका धेरै बीउहरु लोप भइसकेका छन् भने धेरै लोप हुने क्रममा छन् । नेपाल यसबाट अछुटो छैन । प्रकृतिको विकासक्रममा पुराना जातका वनस्तपतिहरु लोप हुँदै जान्छन् ।
नयाँ जातका वनस्पतिहरुको उत्पत्ति भइरहन्छ । प्रयोगमा हुने बालीहरु विकसित हुन थाल्दछन् भने प्रयोगमा नभएका र वातावरण अनुकुल नभएका बालीहरु लोप हुन्छन् । यी जातका बीउ हराउनुमा धेरै कारण छन् ।
पहिलो, वढ्दो जनसंख्याको माग पूर्ति गर्न यिनीहरुको उत्पादन र उत्पादकत्व नपुग्नु । ‘रोमा’ जातको गोलभेडा १२–१५ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुन्छ भने ‘सृजना’ जातको १०५–११० मेट्रिक टन प्रति हेक्टर उत्पादन हुन्छ ।
‘जीतपुर–१’ जातको उखुको उत्पादन क्षमता ७१ मेट्रिक टन प्रति हेक्टर उत्पादन छ भने ‘जीतपुर–२’ जातको ९२ मेट्रिक टन प्रति हेक्टर उत्पादन छ ।
कृषकले बढी उत्पादन दिने जात नै छान्छन् ।
दोस्रो, नयाँ रोग–कीराको प्रकोपको कारण क्षति धेरै हुनु । रोग प्रतिरोध क्षमता वढेमा उत्पादन वढी हुन्छ ।
रोग प्रतिरोध क्षमता भएका जातका बाली किसानको रोजाईमा पर्दछ । प्राकृतिक प्रकोपका कारण पनि धेरै बीउ नष्ट हुने गरेको छ ।
तेस्रो, विकसित प्रविधिअनुकुल विशेषताको अभावका हुनु । जस्तैः आधुनिक मेसिनहरुले होचो वोट हँुदा काम गर्न सहज हुन्छ । कपास, धान, गहँु आदिमा यो लागु हुन्छ ।
चौथो, बाली पाक्ने अवधि लामो हुनु । जस्तै ‘पोख्रेली जेठोबुढो’ धान पाक्न १८०–१८५ दिन लाग्छ, भने ‘मसुली’लाई १५५ दिन भए पुग्छ । ‘पासाङल्हामु गहँु’ लाई १७८ दिन लाग्छ भने ‘बी.एल. ११३५’ जातलाई ११५ दिन भए पुग्छ ।
‘देउती’ जातको मकैलाई १३०–१३५ दिन लाग्छ भने ‘रामपुर कम्पोजिट’ लाई ११०–११५ दिन भए पुग्छ । किसान एक बर्षमा धेरैभन्दा धेरै पटक बाली लिन सके आम्दानी वढ्ने सोच गर्छन् ।
पाँचौं, ठिमाहा जातका बीउहरुको अत्यधिक प्रयोग हुनु । यसले खेतमा विरुवाको विविधतालाई पर धकेलेको कारण अन्य जातका बालीहरु हराउन थालेको हो ।
पुराना बीउको संरक्षण
पूराना जातका बीउहरुको संरक्षण अहिले धेरै ठाउँमा चल्न थालेको छ । समुदायको पहलमा स्थानीय ठाउँहरुमा उपलब्ध बालीहरु र तिनका जातहरुको संरक्षण हुन थालेका छन् ।
किसान वा त्यस कार्यमा संलग्न व्यक्तिहरुलाई बीउ संकलन, प्रशोधन, भण्डारण, नामाकरणलगायतका बारेमा प्राविधिक ज्ञान प्रदान गर्न तालिमको व्यवस्था गरिनुपर्दछ । बीउमा पानीको मात्रा, सापेक्षित आद्रता, तापक्रम आदिको आवश्यक मात्रामा कायम गर्ने सक्नुपर्दछ ।
नयाँ प्रविधिको प्रयोग गर्न सके धेरै लामो समयसम्म ती वीउ नविग्रिने गरी भण्डारण गर्न सकिन्छ ।
विकासशील देशमा ८०–९० प्रतिशत बीउको स्रोत आफ्नै बारीको बीउ उत्पादन प्रणालीबाट चलिआएको छ ।
किसानहरुको आर्थिक विपन्नताका कारण वीउ भण्डारणको लागि आवश्यक स्थानकोे अभाव छ । सन् २०१० मा स्थापना भएयता राष्ट्रिय कृषि अनुसन्धान परिषदअन्तर्गतको नेपाल कृषि जिन स्रोत केन्द्रले तालिम तथा अन्य सहायता प्रदान गर्दै आएको छ । सन् २०१२ सम्ममा देशभरिबाट १०,७८१ थरीका बीउहरु संकलन गरिसकेको छ ।
अनुसन्धानमा ती बीउको प्रयोग गर्न सकिन्छ । जातको विशेषताअनुसार त्यसमा रहेका राम्रा जिनहरुको निकालेर अरु बीउमा स्थानान्तरण गर्न सकिन्छ । जस्तै रोगसँग लड्न सक्ने विशेषता भएका बालीबाट त्यस जिन निकालेर रोगसँग लड्न नसक्ने बालीको बीउमा सार्न सकिन्छ ।
र त्यबाटै नयाँ प्रजातीको बीउ उत्पादन गर्न सकिन्छ । यस कार्यबाट निस्कने बीउलाई वंशानुगत परिवर्तन गरिएको बीउ भनिन्छ । रोग–कीराका कारण हुने क्षतीलाई न्यूनीकरण गर्दा उत्पादन र उत्पादकत्वमा वृद्धि हुन्छ ।
नेपालमा गैर सरकारी संस्थाहरु यी काम गर्दै आएको छ । यसलाई प्रभावकारी बनाउन नेपालका राष्ट्रिय बनस्पति अनुसन्धान केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, स्थानीय निकायलगायतले सक्रिय भूमिका निभाएमा व्यवस्थित र उपलब्धीपूर्ण हुन्छ ।
अनुसन्धान केन्द्र र शैक्षिक संस्थाहरु बीच समन्वय भएमा सबल शैक्षिक जनशक्ति उत्पादन गर्नमा टेवा पुग्नेमा दुईमत छैन । प्राविधिक तालिम, गोष्ठी, छलफलहरुको आयोजनाले यी बंैकहरुको विकास गर्न मञ्च प्रदान गर्नेछ ।
खेतबारीमै बाली लगाएर बीउ संरक्षण गर्ने अवधारणा धेरै देशमा चर्चित र सफल भएका छन् । प्राकृतिक छनौट र मानिसको छनौट दुबै सँगसँगै चल्ने यो प्रणालीको विशेषता हो ।
बीउ/जिन संरक्षणमा दीगोपनाको कृषकको जिविकोपार्जनसँग सम्बन्धित छ । बीउ उत्पादन र बजारीकरण बीचको न्यायिक सम्बन्धले बीउ संरक्षणमा असली टेवा पु¥याउँछ






