बैतडी । अलपत्र रहेका नेपाली मजदुर कल्भर्टमुनि रातदिन बिताउन बाध्य भएका छन् ।
५ दिनअघि घर फर्किन भनी आएका बाजुराका आठ जना नेपाली नागरिक भारतीय सीमा झुलाघाटमा अलपत्र हुँदा कल्भर्टमुनि रात–दिन बिताउन बाध्य भएका हुन् ।
भारतमा समेत लकडाउन भएको र आफूहरूसँग पैसासमेत नभएकाले सडकको कल्भर्टमा बसेर दिन–रात बिताउनुपरेको मनबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कतै बस्ने ठाउँ नपाएपछि कल्भर्टमा बसिरहेका छौं ।’
भारतको लुवाघाटमा काम गर्दै आएका उनीहरू सीमानाका झुलाघाटमा अलपत्र परेका हुन् ।
यही वैशाख १८ गते सीमानाका खुलेको सूचना पाएका उनीहरू लुवाघाट ७० किलोमिटर हिँडेर झुलाघाट पुगेका थिए ।
तर, उनीहरू वैशाख १९ गते मात्रै झुलाघाट पुगेपछि अलपत्र परेका हुन् ।
एक महिना अघिदेखि कामविहीन भएर बसेको र पैसासमेत नभएकाले चाउचाउ, बिस्कुट खाएर दिन कटाउनुपरेको बाजुराको बूढीनन्द नगरपालिका–९ का रमेश रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कल्भर्टमा बिछ्याउने कपडासमेत नहुँदा त्यतिकै बसेर रात–दिन काट्नु परिरहेको छ ।’
बाजुराका आठ जना नेपाली कल्भर्टमा बस्न बाध्य भएका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताउनुभयो ।
‘यो विषयमा भारतको स्थानीय प्रशासनसँग कुराकानीसमेत भएको छ ।’ –उहाँले भन्नुभयो ।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले यो विषयमा आफूलाई जानकारी प्राप्त भएको भारतको पिथौरागढ जिल्लाका डीएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताउनुभयो ।
यो विषयमा बाजुरा प्रशासनले पनि पहल चाल्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।
अलपत्र परेका नेपालीले भारतीय क्वारेन्टाइनमै भए पनि बसोबासका व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका–९ का मनबहादुर बोहरा, रमेश रोकाया, शिव रोकाया, कासी बोहरा, एकेन्द्र बोहरा, चन्द्र बोहरा र भीम बोहरा, बूढीनन्द नगरपालिका–८ का धनबहादुर बोहरासहित आठ जना नेपाली कल्भर्टमा बस्न बाध्य भएका हुन् ।






