Home / Nepal / नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी जाने, फर्कदा नेपाली ल्याउन माग

नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी जाने, फर्कदा नेपाली ल्याउन माग

काठमाडौंअष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले अष्ट्रेलियामा रहेका नेपालीलाई धैर्य धारणा गरी आफू बसेको स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरेको छ । 


दूतावासले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्नु सुरक्षित नहुने बताएको हो । 


आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको दूतावासले जानकारी दिएको छ ।


उक्त जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । 


नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई राजदूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गरेको जानकारी दिर्दै प्राप्त अनुरोधलाई नेपाल सरकारसम्म र्पुयाउने काम गरिरहेको दूतावासले बताएको छ ।


स्वदेश फर्किने नेपाली नागरिकलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम रहेको छ ।


हालको अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्य धारण गरी हाल बसिरहेको स्थानमा बस्नु सुरक्षित हुने दूतावासको ठहर छ । 


अष्ट्रेलिया, नेपाल लगायत सारा विश्व नै हाल अकल्पनीय महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुधिरहेको छ । 


जनजीवन नराम्ररी प्रभावित हुनुका साथै धेरै विषयमा सम्झौता गर्नुपरेको दूतावासले भनाई छ । 


नेपाल सरकारले पनि आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखी कोभिड(१९) नियन्त्रणका लागि अन्तराष्ट्रिय यात्रु आगमनमा रोकलगायतका विभिन्न उपायहरू अपनाइरहेको छ । 


नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको दूतावासको भनाई छ । 


साथै, यस परिस्थितिका कारण कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्न सकिने दूतावासले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *