हाम्रो समाजमा एउटा मान्यता छ कि बिभिन्न किसिमका सरुवा रोगहरु मात्र आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव छ, तर उक्त कुरा शत प्रतिशत यथार्थता छैन ।
विश्वभरि फैलिएको कोविड़-१९ नामक महामारीले विश्व नै आक्रान्त रहेको समयमा नेपालमा पनि दिन-प्रतिदिन विस्तारै बिस्तारै संक्रमित को संख्यामा वृद्धि हुन थालेको अवस्थामा हामी संक्रमणको तेश्रो चरणमा छौँ , उक्त अवस्थामा आधुनिक चिकत्सा क्षेत्रका लागि एउटा धेरै नै समस्या को बिषय लक्षण नदेखिने (Asymptomatic) ८०% कोविड़-१९ का बिरामीहरु हुन् ।
वास्तवमा आयुर्वेदको सिद्धान्त अनुरुप कुनै पनि रोग को संक्रमण पछि पाँच ओटा अवस्थाहरु पार गर्नुपर्दछ ।
१. निदान : – कुनै पनि रोग वा संक्रमणको पहिलो अवस्था हो अर्थात् कुनै कारण विना रोग को उत्पत्ति हुदैन । (जस्तै मानव शरीरमा कोरोना भाइरस प्रवेश गर्ने अवस्था)
२. पूर्वरूप :- शरीरमा संक्रमण भएको अवस्था हुनु तर लक्षण नदेखिने अवस्था अर्थात् रोग लाग्नु पूर्वको लक्षण नै पूर्वरूप हो । ( जस्तै :- शरीरमा संक्रमण भएको पी.सी.आर. टेस्ट गर्दा रिपोर्ट पोजिटिभ देखिनु तर कोरोना रोगको लक्षण नदेखिने अवस्था )
३. रूप :- रोगको लक्षण देखिने अवस्था हो ।(जस्तै :- कोरोनाको संक्रमणमा पी.सी.आर. टेस्ट पोजिटिभ , ज्वरो, सुख्खा खोकी आदि जस्ता लक्षण स्पष्ट देखिनु )
४. उपशय :- रोग वा संक्रमण को लक्षण देखिएपनि औषध, आहार –विहार को सुखप्रद उपयोगले संक्रमण वा रोग निको बनाउन खोज्नु नै उपशय हो । ( जस्तै :- यस अवस्थामा कोरोनाको संक्रमणले शरीरमा एन्टीबडी उत्पादन भई आर.डी.टि. पोजिटिभ देखिनु हो )
५. सम्प्राप्ति:- रोगको प्रारम्भिक अवस्था देखि लिएर पूर्ण रुपले रोग प्रकट हुने अवस्था हो आधुनिक चिकित्सा अनुरुप यसलाई (Pathogenesis) भनिन्छ ।
आयुर्वेदमा रोगको आक्रमण देखि रोगको पूर्ण लक्षण सहित उत्पतिको लागि बिभिन्न छ ओटा अवस्थाहरु पार गर्नुपर्ने हुन्छ ।
अ० संचय :- कुनै पनि संक्रमणले गर्दा कुनै एक स्थानमा दोष को वृद्धि हुने अवस्था हो यस अवस्थामा यदि उपचार गरेमा सहज रुपमा रोग निको हुन् सक्छ । यस अवस्थामा लक्षण देखिन पनि सक्छ ना देखिन पनि सक्छ ।
आ० प्रकोप : संक्रमणको कारणले दोषको वृद्धि भएपनि उपचार नगरेको अवस्थामा दोषको अत्यधिक वृद्धि भई बिभिन्न किसिमका लक्षणहरु देखिन थाल्छन । (जस्तै :- कोरोनामा ज्वरो, सुख्खा खोकी आदि देखिनु )
इ० प्रसर :- प्रकोप अवस्थामा पनि उपचार गरिएन भने बिस्तारै बिस्तारै वात –पित्त –कफ-रक्त हुदै पुरै शरीरमा फैलिन थाल्छ । शरीरमा भएको बल रोग प्रतिरोधात्मक शक्ति ले रोग निको हुन मद्दत पुर्याउछ । ( जस्तै :- यस अवस्थामा कोरोनाको संक्रमणले शरीरमा एन्टीबडी उत्पादन भई आर.डी.टि. पोजिटिभ देखिनु हो )
ई० स्थानसंश्रय :- प्रसर अवस्थामा पनि उपचार गरिएन भने शरीरका धातु आदिलाई दुषित बनाई विशिष्ट अंगमा जम्मा हुन् थाल्छ । (जसरी-कोविड़-१९ ले श्वास प्रश्वास प्रणालीमा )
उ० व्यक्तावस्था :- यस अवस्थामा रोगको पुरै लक्षणहरु देखिन थाल्छन् । ( जस्तै :- कोविड़-१९ मा ज्वरो, श्वास लिन कठिनाई ,छटपटी आदि )
ऊ० भेद :- यदि रोग व्यक्त भईसकेको अवस्थामा पनि उपचार सम्भव भएन भने झन् रोग जटिल बन्दै जानुका साथै उपचारमा कठिनाई हुन जान्छ विभिन्न किसिमका उपद्रव समेत देखिन थाल्छ । (जस्तै :- कोविड़-१९ मा Pneumonia, Pleural Effusion लगायत बिरामीलाई भेन्टिलेटरको आवश्यकता हुने अवस्थामा पुग्नु )
यस अनुरुप अहिले नेपाल भारत लगायत विश्वका धेरै देशहरुमा देखिने लक्षण विहिन कोरोना को मुख्य कारण या त संक्रमण भएपनि पूर्वारूप्को अवस्थामा रहेको छ ।
वा शरीरमा भएको बल ( रोग प्रतिरोधात्मक शक्ति ) ले गर्दा उपशय को अवस्थामा रोग निको हुदै छ तसर्थ यस्तो अवस्थामा आयुर्वेद चिकित्साको यो पञ्च निदान को सिद्धान्त , षट क्रियाकालको सिद्धान्त र व्यधिक्षमत्वको सिद्धान्त लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वीकार गरि जति पनि लक्षण नदेखिएका कोरोना पोजिटिभ बिरामीहरुलाई उपचार गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागलाई अग्रसारित गर्नुपर्ने उपर्युक्त देखिन्छ, किनभने लक्षण नदेखिने विरामीहरुबाट कोरोना सर्ने जोखिम उच्च हुन जान्छ ।
यो सिद्धान्त अनुरुपको उपचारले लक्षण देखिने कोरोनाको उपचारमा समेत मद्दत पुर्याउने गर्दछ ।
मित्रराष्ट्र भारतमा पहिलो र दोश्रो अवस्थाको कोरोनामा आयुर्वेद उपचार शुरु गरिएको अवस्था छ ।
के सरुवा रोगहरुको उपचार आधुनिक चिकित्सा पद्दतिबाट मात्र सम्भव छ ? तर उक्त कुरा शत प्रतिशत यथार्थता छैन बरु आधुनिक चिकित्साबाट प्राप्त विभिन्न औषधिहरुको प्रयोगले हाम्रो शरीरमा नकारात्मक प्रभाव तथा विषाक्त प्रभाव समेत देखिने गर्दछ ।
कुनै पनि रोगको उपचार गर्नु मात्र महत्वपूर्ण होइन तर त्यसको रोकथामको लागि भूमिका पनि अति आवश्यक हुने गर्दछ जसको लागि आयुर्वेद चिकित्सा शास्त्रको स्वास्थ्य वृत्तको महत्वपुर्ण भूमिका रहेको छ ।
तसर्थ हाम्रो पूर्वीय आदि सनातन संस्कृति ,पूर्वीय आयुर्वेद उपचार पद्दती अबलम्बन गरि कोरोना रुपी महामारी बाट बच्न एवं बचाउन आवश्यक छ ।
आयुर्वेद अपनाऔं , घरमै बसौं ।
कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं ।।






