Home / Nepal / News / एसईईमा समावेश हुन आजबाट आवेदन फारम खुला

एसईईमा समावेश हुन आजबाट आवेदन फारम खुला

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आजबाट आवेदन फारम खुला गरेको छ।

बोर्डले असोज १५ देखि कात्तिक मसान्तभित्र फारम बुझाउन सूचना जारी गरेको हो । यस्तै, बोर्डले २०७९ सालको एसईईका लागि रजिष्ट्रेसन फारम पनि खुला गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा आवेदन फारम भर्न साधारण र प्राविधिक धारतर्फका विद्यार्थीको उमेर १४ वर्ष पूरा भएको अर्थात् २०६४ साल चैत मसान्तसम्मको जन्म मिति भएको हुनुपर्ने छ । आवेदन फारम भर्न प्रति विद्यार्थी पाँच सय रुपियाँ तोकिएको छ ।

यसैगरी आवेदन फाराम भर्नका लागि रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, २०७६ साल वा सोभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि सम्मिलित गराउनुपर्नेछ । खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीका हकमा चैत मसान्तभित्र १६ वर्ष पुग्ने उमेर भएको हुनुपर्ने बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयकाले २०७८ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीले २०७९ सालको नियमित एसईई परीक्षामा सम्मिलित हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ । यस्तै, खुला तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७८ सालको नियमित एसईईमा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम खुला गरिएको छ ।

रजिष्ट्रेसन फाराम भर्नका लागि कात्तिक मसान्तसम्मको समयावधि तोकिएको छ । रजिष्ट्रेसन फारामका लागि प्रति विद्यार्थी तीन सय रुपियाँ कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *