नयाँ दिल्ली । भारतमा नोभेल कोरोना संक्रमणविरुद्धको अग्रमोर्चामा रहेर संक्रमितको उपचारमा खटिएका चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणका घटना बढेपछि नयाँ कानुन निर्देशन जारी गरिएको छ ।
भारत सरकारले चिकित्सकको सुरक्षाका लागि नयाँ कार्यकारी निर्देशन जारी गरेको जनाइएको छ ।
भारतको महामारी रोग ऐन १८९७ लाई संशोधन गरिएको छ ।
संशोधन कानुनअनुसार महामारीविरुद्ध लडिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ६ महिनादेखि सात वर्षसम्मको कैद सजाय हुनेछ ।
“महामारीबाट मुलुकलाई जोगाउन अग्रमोर्चमा रहेका चिकित्सकहरुमाथि आक्रमण दुर्भाग्यपूर्ण र निन्दनीय छ ।
उनीहरुमाथिको आक्रमण र दुर्व्यवहार सह्य हुनेछैन । यसका लागि नयाँ संशोधन अध्यादेश ल्याइएको छ ।
उक्त अध्यादेश राष्ट्रपति रामनाथ कोविन्दले प्रमाणीकरण गरेपछि लागु हुनेछ,” भारती सञ्चारमन्त्री प्रकाश जाभेदकरले भने ।
जनवरी २२ र २३ लाग तय गरिएको भारतीय चिकित्सक एसोसिएनको धर्ना स्थगित गरिएको छ । भारतीय गृहमन्त्री अमित शाह र स्वास्थ्य मन्त्री हर्ष भर्दनसँगको कुराकानीपछि उक्त धर्ना स्थगित गरिएको हो ।
उनीहरुले तत्काल चिकित्सको सुरक्षाका लागि कानुन ल्याउन माग गरेका थिए । – सीएनएन






