काठमाडौं : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार साउनयता नेपालमा फैलिइरहेको स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।
सबैभन्दा धेरै पाल्पामा आठ जनाको मृत्यु भएको छ। त्यस्तै काभ्रेमा चार तथा गुल्मी, रामेछाप, सिन्धुली र पर्वतमा एक–एक जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ।
कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएर कोभिडको रिपोर्ट नेगेटिभ आएमा ‘स्क्रब टाइफस’ को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस मुसा खरायो लगायतका रौँ भएका जीवजन्तुमा पाइने एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो। यस्ता, जीवजन्तुमा पाइने किर्ना ‘ओरिएन्सिया सुत्सुगामुसी’ नामक जीवाणुबाट संक्रमित छ भने उक्त किर्नाले मानिसलाई टोकेमा यो संक्रमण सर्दछ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार नेपालमा सन् २०१३ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा प्रत्येक १० मध्ये ७ वटा मुसामा यस्तो किर्ना भेटिएको थियो। यो किर्नाको टोकाइको असर २४ देखि ४८ घण्टाभित्र देखापर्छ।
घरमै मुसा बस्नै वातावरण भए टाइफस सर्ने सम्भावना बढी हुन्छ । यसबाहेक झाडी, बाक्लो घाँस भएको ठाउँ आदिमा मुसा बस्ने हुँदा खेतबारीको काम गर्ने क्रममा समेत यो रोग सर्ने गर्दछ ।
यी हुन् स्क्रब टाइफसका लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा सुुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखा पर्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।
कसरी गर्ने उपचार ?
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने (मल्टी अर्गान डिस्फङसन) समेत हुनसक्छ ।
डा. पुनकाअनुसार यसको उपचारमा ‘डक्सिसाइक्लिन’ नामक औषधिको प्रयोग गरिन्छ । उल्लेखित लक्षण देखिए चिकित्सकको सल्लाहअनुसार औषधि खानुपर्छ । टाइफाइडसँग मिल्दोजुलदो लक्षण देखिने हुँदा नेपालमा स्क्रब टाइफसको पहिचानमा अझैपनि ढिलाइ हुने गरेको डा. पुनको अनुभव छ । जसकारण बिरामीको उपचार प्रक्रियासमेत लम्बिने गरेको छ ।
रगत परीक्षणको माध्यमबाट स्क्रब टाइफस पत्ता लगाउन सकिन्छ । सरकारीस्तरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रब टाइफसको परीक्षण गरिन्छ। समयमै पत्ता लागे औषधि सेवन सुरु गरेको १ देखि २ दिनमा स्क्रब टाइफस निको हुन्छ ।






