लमजुङ : सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ।मृत्यु हुनेमा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको छ।
खुदी प्रहरीचौकीका हवल्दार उत्तम गुरुङका अनुसार आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवैजना बढी मादकपदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे। त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुन सक्ने र बढी मादकपदार्थ सेवन गर्ने गरेकाले १०÷१५ दिनअघि मात्रै दुवैजना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए।
ढुंगामाटोका गाह्रो र जस्तापाताको छानो भएको धन्सारजस्तो एकतले घर जलेर नष्ट भएको छ। घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ।
प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको जनाएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ। धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ । रासस






