Home / Nepal / News / सुरुङमार्गमा लकडाउनको असर: जापानीहरू स्वदेश फर्किए, नागढुंगा सुरुङमार्गको काम ठप्प

सुरुङमार्गमा लकडाउनको असर: जापानीहरू स्वदेश फर्किए, नागढुंगा सुरुङमार्गको काम ठप्प

काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता पाएको तथा अन्य विकास निर्माणको काम सुचारु गर्न दिने खुकुलो बाटो अपनाए पनि नागढुंगा सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन ।

मुलुकमा जारी लकडाउनका कारण त्यहाँ खटिएका स्थानीय मजदुुर तथा निर्माण कम्पनीका प्राविधिक आ–आफ्नो घर फर्किएपछि सुरुङ निर्माणको काम अघि बढ्न नसकेको हो । लकडाउनपछि सुरुङमार्ग निर्माणको काम ठप्प रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाले लकडाउनपछि सुरुङ निर्माणमा खटिएका जापानी प्राविधिकसहित २ सय ७० जना कामदार आ–आफ्नो घर फर्किएका जनाएको छ । जसको असर आयोजनामा परेको छ ।

आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले प्राविधिकदेखि अपरेटर तथा मजदुरहरू आ–आफ्नो घर लागेपछि निर्माण कम्पनीका जापानी प्राविधिकसमेत स्वदेश फर्किसकेको बताउनुभयो ।

‘लकडाउनपछि आयोजनाको काम पूर्णरूपमा ठप्प छ । स्थानीय मजदुरदेखि उपत्यकाबाहिरका मजदुर, प्राविधिक, अपरेटर सबै घर फर्केको अवस्था छ भने निर्माण कम्पनी जापानी प्राविधिक पनि आफ्नो देश फर्किसकेका छन् ।’ –उहाँले भन्नुभयो ।

सरकारले लकडाउनका बेला विकास निर्माणको काम सुचारु गर्न बाटो खुकुलो पारे पनि मजदुर नहुँदा सुरुङ निर्माणको काम प्रभावित बनेको उहाँले बताउनुभयो ।

‘लकडाउनका बेला सरकारले काम शुरू गर भनेको छ । कामदारदेखि निर्माण कम्पनी पनि स्वदेश फर्किसकेको अवस्था छ ।’ –उहाँले भन्नुभयो । यस्तो अवस्थामा ठेकेदार पक्षका प्राविधिकहरू नेपाल फर्केपछि मात्रै काम गर्ने सहज वातावरण हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्राथमिकता प्राप्त बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी गएको कात्तिक २८ गतेबाट निर्माणको काम थालेको थियो । जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा-आन्दो जेभीले सुरुङमार्गको निर्माण रहेको छ ।

ठेकेदार पक्षबाट प्रस्तुत कार्ययोजनाअनुसार यही मे महिनाको अन्तिम वा जुन महिनाको पहिलो हप्ताबाट सुरुङ खन्ने काम शुरू गर्ने योजना छ । सुरुङ खन्न ठेकेदार पक्षले आवश्यक उपकरण ल्याउन प्रक्रिया थालिसकेको आयोजनाले जनाइसकेको छ ।

यसबीचमा निर्माण कम्पनीले सुरुङ मार्गबाहेक सुरुङ मार्गसम्म पुग्ने पहुँचमार्ग, साइड क्लियरको काम, बस्ने घरहरू निर्माण, टनेल प्ल्याट फर्म, कल्भर्टलगायतका निर्माण कार्य गरिरहेको अयोजना प्रमुख खरेलले बताउनुभयो ।

यहाँ बन्ने २ दशमलव ७ किलोमिटर लम्बाइको सुरुङमार्ग र फ्लाई ओभर नेपालकै पहिलो हुने दाबी आयोजनाले गरेको छ । आयोजनाको सुरुङ, फ्लाइओभर र सडक अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास आयोजनाले गरेको छ ।

उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा नाकाका लागि यस सुरुङमार्ग निर्माणलाई महत्वपूर्णरूपमा हेरिएको छ ।

सुरुङमार्गको निर्माण सम्पन्न भएपछि हालको सडकको रेखांकनमा सुधार हुने, यातायात सञ्चालनको समयमा कमी आउने र सडक यातायातलाई सुरक्षित र भरपर्दाे हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *