Home / Nepal / News / मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव

मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव

काठमाडौं : मुख्य चाडपर्व नजिकिँदै गर्दा चिनीको अभाव हुन सक्ने देखिएको छ ।

अर्थ मन्त्रालयले समयमै चिनी आयात गर्न स्वीकृति नदिएमा चाडपर्वमा चिनी अभाव हुने र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने अवस्था आउन लागेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई चिनी आयात गर्न दिन माग गरेको महिनौँ भइसक्दा पनि अर्थ मन्त्रालयले अझै स्वीकृति दिएको छैन । जसको कारण बजारमा चिनी अभाव हुन सक्ने देखिएको हो ।

सरकारी कम्पनी साल्ट ट्रेडिङसँग भएको चिनी मौज्दात घट्दै गएको छ । अहिले संस्थानसँग ३०० टन पनि चिनी मौज्दात छैन । समयमै चिनी आयात गर्न नपाए चिनीको अभाव हुने संस्थानले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ संस्थानसँग भएको चिनीले चाडपर्वलाई नपुग्ने बताउँछिन्। चिनी आयात गर्न पाउने वा नपाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको उनले बताइन्।

दसैँ, तिहारका लागि मात्रै ६० हजार टन चिनी आवश्यक पर्ने संस्थानका प्रवक्ता कुमार राजभण्डारीले बताए। उनका अनुसार संस्थानले ६ महिनाअगाडि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई स्वीकृतिका लागि पत्राचार गरेको हो। तर, अहिलेसम्म अर्थले निर्णय दिएको छैन।

चिनी आयात गर्न ग्लोबल टेन्डर गर्नुपर्ने हुन्छ । त्यसका लागि न्यूनतम एक महिना लाग्ने राजभण्डारीले बताए । “चिनी आयात गर्न ग्लोबल टेन्डर गर्नुपर्ने हुन्छ । त्यसका लागि न्यूनतम एक महिना लाग्छ । सरकारले द्रुत गतिबाट आयात गर्ने भने पनि थोरैमा पनि १५ दिन लाग्छ,” उनले भने ।

अर्थ मन्त्रालयले तत्काल चिनी आयात गर्न स्वीकृति नदिएमा चिनी अभाव हुने संस्थानका अधिकारी नै बताउँछन् । चिनीको मौज्दात घट्दै गएपछि चिनीको बिक्री पनि कम गर्दै लगेको उनले बताए । “चिनी सकिन्छ भनेर हामीले कम मात्रामा बिक्री गरेका छौँ,” उनले भने ।

सरकारले समयमै निर्णय नगर्दा प्रत्येक वर्षको चाडपर्वका बेलामा चिनीको अभाव हुने र त्यसको मूल्य उपभोक्ताले तिर्नुपर्ने नियति बन्दै आएको छ ।

संस्थानले अत्यधिक खपत हुने चिनी चाडपर्वलक्षित गरी अनुदानमा भन्सार सहुलियतमा आयात गर्दै आएको थियो । संस्थानले गत वर्षको भदौमा ५० हजार मेट्रिक टन आयात गर्न अनुमति मागेको थियो भने २० हजार टन आयात गर्न पाएको थियो ।

संस्थानले बजार मूल्यको तुलनामा सहुलियत दरमा चिनी बिक्री–वितरण गर्दै आएको छ । दसैैँ, तिहार, छठजस्ता चाडपर्वका बेलामा संस्थानले छुटसमेत प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *