Home / Nepal / काठमाडौंको कपनमा बोरिङ खन्ने क्रममा निस्कियो मिथेन ग्यास

काठमाडौंको कपनमा बोरिङ खन्ने क्रममा निस्कियो मिथेन ग्यास

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा पानीका लागि बोरिङ खन्ने क्रममा बालुवासहित पानीको फोहोरा निस्केको छ।

बुधबार कपन शिवमन्दिर नजिक चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए।

सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको बताए। उनले भने “काठमाडौं उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो”।

त्रसित स्थानीयको प्रतिक्रियामा उनले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए। कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाए ।

“सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ”, स्थानीय बद्री ढकालले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ।

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ। अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि प्रहरीले भीडभाड नगर्न माइकिङ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *