Home / Nepal / अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा डाकेर सुरक्षित उद्धारको पहल थाल्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाणले अन्तर्रा‍ष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकला स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने भन्दै त्यसका लागि सबै निकायबीच समन्वय आवश्यक पर्ने बताए। “नेपाल फर्काएपछि पनि उनीहरूलाई कोभिड १९ महामारीको सन्दर्भमा पीसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टाइन लगायतको व्यवस्था गरी उनीहरूलाई घरसम्म पुर्‍याउनेगरी कार्ययोजना बनाउनुपर्छ,” उनले भने ।

गृहमन्त्री खाणले इरालकमा १२ नेपालीको घटनाले नेपालमा ठूलो समस्या आएको स्मरण गराउँदै सचेततापूर्वक चाँडो उद्धारको योजना बनाउन पनि निर्देशन दिए। उनले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्थानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न आग्रह गरे।

बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अपगानिस्थानका नेपालीहरूको अवस्था र उद्धारका लागि आवश्यक पर्ने कामका विषयमा गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *