भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन्।
ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जंगली बँदेलले नष्ट गरिदिने गरेको तर जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटक–पटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरूको गुनासो छ।
हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायत बाली नोक्सान गरेको छालिङका श्याम पुरीले बताए। रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उनले बताए।
चाँगुनारायणका बद्री अधिकारीले जंगलबाट राति आउने बँदेलको झुन्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताए ।
नगरकोटका सन्त लामा भन्छन्, “मकै खान बँदेल राति आउँछ। बँदेलको झुन्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ।”






