काठमाडौं : कतारको जनस्वास्थ्य मन्त्रालयले विदेशबाट कतारमा काम गर्न आउने कामदार फिर्ता आउने नियम सोमबार सार्वजनिक गरेको छ।
नेपाल, भारत, बंगलादेश, फिलिपिन्स पाकिस्तान तथा श्रीलंकाबाट प्रवेश गर्ने यात्रुको हकमा दुईबुँदे नीति बनाइएको छ। यो नयाँ नीतिअनुसार कतारमा खोप लगाएका वा कतारमा कोभिड–१९ को रोग लागेर निको भएका कामदार वा यात्रुहरू पुनः कतार फर्कने हो भने होटलको क्वारेन्टिनमा केवल दुई दिनमात्र बस्दा हुने व्यवस्था गरेको छ।
होटलमा बसेर कोभिड–१९ को परीक्षण गराएर नेगेटिभ आएको खण्डमा आफ्नो गन्तव्य जानसक्ने नियम बनेको छ।
तर, माथि भनिएका बाहेकका अन्य सबै आगन्तुकले होटलमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम रहेको छ ।
कतारको जनस्वास्थ्य मन्त्रालयले सोमवार जारी गरेको नियमअनुसार कतार पुग्नुभन्दा बढीमा ७२ घण्टा अघि परीक्षण गरिएको पीसीआर रिपोर्ट नेगेटिभ हुनु अनिवार्य छ।
त्यस्तै उक्त देश भ्रमण गर्नका लागि चाहिने कागजात पनि डिस्कभर कतारको वेबसाइटमा गएर अनलाइन भरेर जरुरी कागजात डाउनलोड गर्नुपर्नेछ ।
दुवै डोज भ्याक्सिन लगाएको र सो को कार्ड प्रमाण भएको व्यक्तिलाई क्वारेन्टिन नचाहिने तर पीसीआर टेस्ट भने गर्नुपर्ने नियम पनि लागू भएको छ।
कतारको जनस्वास्थ्य मन्त्रालयले कतार प्रवेश गर्ने पाहुनका लागि देश अनुसार हरियो, पहेंलो र रातो रंगमा वर्गीकरण गरेको छ ।






