सप्तरी : छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ ।
चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५, मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो। चोरीको घटना बाहिरिएपछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीन पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत ‘सिल’ गरिएको थियो ।
चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए। मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।
मन्दिरमा सीसीटीभी जडान भए पनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सीसीटीभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापरबाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्को विरोध गरिरहेका छन् ।






