काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बिहीबार आर्थिक पत्रकार संघसँगको छलफलमा उनले मौद्रिक नीति ल्याउन आफूले अवरोध नगरेको बताएका छन् ।
उनले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले त्यस्तो निर्देशन नदिइएको बताए। राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, जनताको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उनले बताए । उनले अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर जनतालाई जानकारी दिन मात्र यथार्थस्थिति स्पष्ट पार्न खोजिएको पनि उनले बताए।
उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रका बदल्ने हिसावले पहलकदमी अघि बढाउन सोच रहेको उनको भनाइ छ ।
अर्थसचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको भन्दै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।






