काठमाडौं : सरकारले शुक्रवार चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि सम्झौता भएको जनाएका हो ।
मन्त्रालयका अनुसार खोप खरिदका लागि भएको सम्झौता अनुशार असार २४ गतेबाट खोप आपूर्ति सुरु गरेर हरेक हप्ता विभिन्न चरणमा आपूर्ति गर्ने तयारी गरीएको विज्ञप्ति जनाइएको छ
“पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको राजधानी बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ”, विज्ञप्तिमा भनिएको छ, “खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने गरी व्यवस्था मिलाइएको छ ।”
यसअघि सरकारले छिमेकी देशहरु चीन, भारत र कोभ्याक्स सुविधामार्फत खोप अभियान सञ्चालन गरेको थियो ।
मन्त्रालयका अनुसार हालसम्म ७ लाख ५७ हजारभन्दा धेरैले खोपको दुवै मात्रा लगाएका छन ।







