Home / Nepal / News / सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन स्थानीय नेताकाे दबाब

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन स्थानीय नेताकाे दबाब

धनुषा : गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ। सबैला नगरपालिकामा एक १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको थियो। उक्त घटना सार्वजनिक भएपछि स्थानीय केही नेताहरूले गाउँमै मिलाउन दबाब दिएका थिए।

सबैला–१२ रघुनाथपुर बस्ने तीन युवाले किशोरीलाई बलात्कार प्रयास गर्दै भिडियोसमेत खिचेको पीडित किशोरीले जनाएकी छन्। पीडित किशोरीका परिवारजनले इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते आरोपित तीन युवा गाउँकै १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवान विरुद्ध उजुरी दर्ता गराएका छन्।

जेठ १२ गते दिउँसो खेत गएकी किशोरीलाई ती युवाले सामूहिक बलात्कार प्रयास गरेको पीडितले बताइन्। घटना लगत्तै आरोपित तीनै जना युवा फरार रहेकाले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।

प्रेस मञ्च प्रदेश २ का कार्यवाहक अध्यक्ष तथा सबैलाका बासिन्दा सुरेश यादवका अनुसार घटनापश्चात् पीडित परिवारलाई गाउँमै मिल्न स्थानीय केही नेताले दबाब दिँदै आएका थिए। उनले भने, “पीडित पक्षलाई स्थानीय केही नेताले मिल्न दबाब दिएर पञ्चायत बसाएको थाहा पाएपछि मैले नै प्रहरीलाई खबर गरेँ। जानकारी पाएलगत्तै पञ्चायतमै प्रहरीको टोली पुगेर हस्तक्षेप गरेको छ।”

अहिले घटनाको मुद्दा दर्ता भएको छ। फरार आरोपीहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *