विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ। कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा पुगेको टोलीले आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो।
प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्वीन्टल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेक्स, तन्ना, ब्लांकेट एकसय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उलब्ध गराइएको हो। संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई वितरण गर्न बाँकी सामग्री हस्तान्तरण गरेको थियो।
कार्कीले भने,“आगलागीले बजार पूर्ण रुपमा ध्वस्त भएको रहेछ। पीडित परिवारको पुर्नस्थापना निकै कठिन देखिएकाले यसमा प्रदेश १ सरकारले विशेष राहत प्याकेज नै घोषणा गर्नुपर्ने हाम्रो माग छ। संसद बैठकमा समेत स्थानीयको मागलाई जोडदार ढंगले उठाउने छौं।” घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार रु. ५० हजार उपलब्ध गराउने घोषणा गरेको भएपनि त्यो अपुग हुने देखिएको आफूहरुको ठहर भएको कार्कीले सुनाए।
राहत तथा पुर्नस्थापनाको लागि प्रति परिवार कम्तिमा तीन लाख रुपैयाँ उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋणसमेत दिन स्थानीयले माग गरेको कार्कीले बताए।
कांग्रेस संसदीय दलसँगै पुगेको फुड बैंक लायन्स क्लब अफ इटहरी सुनसरीले पीडित परिवारलाई चामल उपलब्ध गराएको अध्यक्ष ई. भविन खड्का र चेयर पर्सन निर्मला चौधरीले बताए।






