काठमाडौं : कञ्चनपुरमा नक्कली नोट र मेसिनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९, पिपरीया बस्ने २५ वर्षीय सन्जय राना छन्। प्रहरीले उनको साथबाट एक हजार दरका दुईथान र १०० दरका दुईथान नक्कली नेपाली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो।
उनको पसलबाट एकथान फलामको कैँची, एक हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको एकथान साँचो, एकथान गम, १५० थान फोटोकपी पेपर, एकथान रंगिन फोटोकपी मेसिन, एकथान डेस्कटप कम्प्युटरलगायत प्रहरीले बरामद गरेको जनाइएको छ।






