काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन्।
“प्रचण्ड कमरेडले के भन्नुभएछ हामीसँग सहकार्य गरेका एकजना कमरेडलाई बोलाएर फलानाजी २० वर्ष प्रचण्डलाई कसैलाई हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ। हामीले छाडेको २० महिनै लागेन प्रचण्ड धुलोपिठो हुनलाई,” उनले भने।
विगतमा प्रचण्डको एक अपिलमा धेरै सहिद हुन तयार हुने गरेको स्मरण गर्दै महासचिव विप्लवले केही दिनअघि माधव नेपाल नभएको भए जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेको बताए।
उनले प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको आरोप पनि लगाए। प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि भागबन्डामै लडाइँ केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको बताए।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।






