काठमाडौं : एसिड आक्रमण परेकी वीरगन्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय प्रदान गर्ने इन्टरनेशनल विमेन अफ करेज अवार्ड जितेकी छन्।
खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकि काठमाडौंस्थित अमेरिकी राजदूतावासले जानकारी दिए। यो अवार्ड पाउने १५ वर्षीया खातुन पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन विश्वकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि वनेकी हुन्। एसिड आक्रमण अन्त्यका लागि गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएको छ।
खातुनले आफूमाथि घटेको दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरेकी थिइन्। खातुनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजाय दिने कानुन निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आग्रह गरेकी थिइन्।
त्यसपछि प्रधानमन्त्रीले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आग्रह गरेका थिए। उनले अपराधीलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश जारी गरेका थिए। यो परिवर्तन ल्याउनमा खातुनको नेतृत्वदायी भूमिका रहेको दूतावासले जनाएको छ। गत वर्ष विद्यालय जाँदै गर्दा खातुनमाथि तेजाब आक्रमण भएको थियो ।






