Home / Society / महाशिवरात्रिअघि र पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्रमा केन्द्रित

महाशिवरात्रिअघि र पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्रमा केन्द्रित

काठमाडौं : महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ।

वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो। बैठकमा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता थियो।

सफाइ अभियानकर्मी किशोरसिंह शाहीका अनुसार महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने पर्वअघि र पछिका दुवै शनिबारको सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित गरी गर्न लागिएको हो। दुवै कार्यक्रम पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटको बाँधसम्म सरसफाइ गर्ने गरी तय गरिएको छ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान सात वर्षदेखि निरन्तर जारी छ। जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना भाइरसको महामारीलगायत प्रतिकूल अवस्थामा पनि अभियानकर्मीले सहजै वाग्मती सफाइ गर्दै आएका छन्।

वाग्मती नदी किनारका विभिन्न पुरातात्विक, धार्मिक, सांस्कृतिक र पौराणिक दृष्टिले महत्वपूर्णस्थलमा विशेष मेला, पर्व, जात्रा परेका बेला सफाइ महाअभियान त्यहीँ केन्द्रित हुने गरेको छ। यसैले महाशिवरात्रिअघि र पछिका सफाइ महाअभियान पशुपति क्षेत्र केन्द्रित गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *