काठमाडौं : ताप्लेजुङको दोस्रो ठुलो दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ।
मंगलबार ताप्लेजुङको दोभान बजारमा आगलागी भई ४९ घर जलेर नष्ट भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन्। ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताए। आवासको निम्ति भूकम्पपीडितसरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनको भनाइ छ।
तत्कालीन राहतको रूपमा गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैयाँको दरले पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए।






