हेटौँडा : हेटौँडाको नवलपुरमा आज बिहान ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार आज बिहान पौने ६ बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना१ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइते उनको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो।
दुर्घटनापश्चात ट्रक चालक फरार छन्। उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ।






