काठमाडौं : बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्ट प्रहरी अनुसन्धानका क्रममा घटनाको दिन विद्यालयबाट डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ।
उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ। भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा। दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा। तर माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अनुसन्धानका क्रममा सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरु बताउँछन्।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो। उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ।
तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ।
अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो।
पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ। भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्। सुरुमा मैले उनको किताब फालेँ। त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ। उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ।”
उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ। आफूले पहिल्यै मार्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष बयान दिएको स्रोत बताउँछ ।
उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो ।
हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए।
भागरथी हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो। उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ।






