काठमाडौं : काठमाडौंको आज विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो।
विहान मसिनो कुहिरो लागेको काठमाडौंमा भिजिविलिटी २ किलोमिटर रहेको छ। भिजिविलिटी साढे २ किलोमिटरमा झरे पछि हवाई यातायात सेवाका लागि विमान उडान तथा अवतरणमा अवरोध सिर्जना हुने मौसमविद् मीनकुमार आर्याल बताउछन्। दिउँसो मौसम सफा रहने काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ।
तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको छ। यसले स्थल तथा हवाई यातायात सेवा प्रभावित हुन सक्ने छ। १२ देखि २ बजेसम्म विस्तारै तुवाँलो हटेर जाने यद्यपि केही ठाउँमा साँझसम्मै रहने मौसमविद् अर्यालको भनाइ छ।
आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानमा मौसम सफा रहनेछ। प्रदेश १, बाघमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव कम भएका कारण यो वर्ष अहिलेसम्म जाडो नहट्नुको कारण पश्चिमी वायुको प्रभावले हिउँदमा जति पानि पर्नुपर्ने थियो परेन। पानी नपरेका कारण राजस्थान तथा पश्चिमबाट आउने वायुमा चिसोको मात्रा बढेर आइरहेको छ।
पूर्वी, पश्चिमी र मध्ये क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। पहाडी भू–भागमा सामान्य बदली देखिएको तर यो बदली पानी पार्ने तहको नभएको अर्याल बताउँछन्। तत्काल केहीदिन भित्रै पानी पर्ने सम्भावना देखिएको छैन। पानी पार्ने तहको मौसमी प्रणाली नेपाल नभित्रिएको उनी बताउँछन्। अहिले पहाडी तथा हिमाली भू–भागतिर देखिएको बादल नेपालको भूगोलकै कारण देखिएको आर्यालको भनाइ छ।






