लहान : सिरहाको कर्जन्हा नगरपालिका–१०, मनहर्वामा आज यात्रीवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नम्बरको यात्रीवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।






