सर्लाही । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । गाडीको ठक्करबाट घाइते भएका पैदलयात्रीको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य छ ।
प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए ।
ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताए । ‘दुर्घटना नहुने कुरो हैन, तर ठक्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, वहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठक्कर दिएपछि झन् भाग्नु भयो,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले गल्ती महसुस गर्नुपर्छ ।’





