काठमाडौं : पर्सामा तेल कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रिदेव रिप्याकिङ फर्मका सञ्चालक वीरगन्ज महानगरपालिका ३, आदर्शनगर टोलका २४ वर्षीय रोशनकुमार वर्णवाल छन्।
रोशनको आफ्नो दाजु राजन वर्णवालको नाममा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्रान्डको सोयाबिनको तेल ल्याई रिप्याकिङ गरी बोतलमा दीप शक्ति तिलको तेल, तिल उपकार पूजा तेल लेखिएको स्टिकरसमेत टाँसेर सर्वसाधारणलाई बिक्री गरी कालो बजार गरिरहेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयबिन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाइन्ड सोयाबिन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३४८ लिटर तेल, १५० थान तिल उपकार पूजा आयल लेखेको स्टिकर, दीप शक्ति तिलको तेल लेखेको स्टिकर लेबल ४० वटा तथा धाराजस्तो समेत फिट भएको २ थान ड्रम र दीप ज्योति तिल उपकार लेखेको खाली बोतलको २ थान पोका र खाली बोतल २ थान बरामद गरेको हो ।
रोशनविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी पर्साले जनाएको छ।






